Search This Blog

Popular Posts

Saturday, April 9, 2011

चिया मजदुरहरू आन्दोलनमा

चिया बगानमा कार्यरत पूर्वका चिया श्रमिकहरु आजबाट चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
एकिकृत माओवादी, नेकपा एमाले र नेपाली काँग्रेस निकट तीनवटै संगठनले संयुक्त कार्यक्रम घोषणा गरेका हुन् ।
आज चिया बगानहरुमा कोणसभा गर्ने र शुक्रवारबाट दैनिक एकएक घण्टा कामको अवधि घटाउने तय भएको नेपाल चिया बगान श्रमिक संघ दमकका अध्यक्ष गोपाल खड्काले बताउनु भयो ।
श्रमिकहरु रिटायर्ड हुदाँको सिलिङप्रथा हटाउनु पर्ने, कारखाना मजदुर र बगान श्रमिकले पाउने सुविधा समान गरिनुपर्ने, संञ्चयकोष १० प्रतिशत बनाउनुपर्ने लगायत माग अघि सारेका छन् । सिलिङप्रथा अनुसार श्रमिक रिटायर्ड हुदाँ २० हजार रुपैयाँ मात्र पाउने गरेका छन् । तर यो प्रथा हटाए उनीहरुले ५० हजार रुपैयाँ पाउँछन् ।
यस विषयमा तीनवटै युनियनका केन्द्रीय समितिले केही समय पहिले सरकारको ध्यानाकर्षण गराएका थिए । स्वतन्त्र चिया मजदुर युनियन दमकका सचिव लालबहादुर बिकले अब तलब बृद्धि गरिदाँ कारखाना मजदुर र श्रमिकहरुबीच समानता कायम गरिनुपर्ने बताउनु भयो । सरकारले मजदुरको तलब दैनिक २४६ रुपैयाँ तोकेको छ । तर, पहिले पनि कारखाना मजदुरले दैनिक १९० रुपैंया पाउँदा श्रमिकले भने १२० रुपैंयाँ मात्र पाउँदै आएका थिए ।

No comments:

Post a Comment